June 5, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईंको सचिवालयले उनले आत्मसमर्पण गरेको दाबी

२०८१ चैत्र २८

340

काठमाडौं । गएको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईंको सचिवालयले उनले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

नेपाल प्रहरी उच्च स्रोतले भने उनलाई पक्राउ गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौंतर्फ ल्याउने तयारी भइरहेको बताएको छ । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘अहिले २ घन्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’

कानुन व्यवसायी र मानवाधिकारकर्मीहरुको रोहबरमा आफू २४ घण्टामै सार्वजनिक हुन तयार रहेको भन्ने अभिव्यक्ति दिएको २४ घण्टा बित्दानबित्दै राजसंस्था र हिन्दुराज्य फर्काउने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा परेका छन् । आफू भागेको होइन बरु ज्यान जोगाउन विवश भएको र नेपालमै कतै भूमिगत रहेको दाबी गर्दै आएका प्रसाईंले भारतको आसाममा त्यहाँका प्रहरीसमक्ष बिहीबार (२८ चैत) आत्मसमर्पण गरेका हुन् ।

चैत १५ को राजसंस्था पक्षधरको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रसाईं जबर्जस्ती प्रहरीको घेरा तोडेर बेपत्ता भएका थिए । उनी त्यसरी एकाएक फरार भएको सन्दर्भलाई रहश्यपूर्ण पनि ठानिएको थियो भने प्रहरी प्रशासनको निकै आलोचना हुँदै आएको थियो ।

बुधबार आकस्मिक तवरमा प्रसाईंले भिडियो सन्देश जारी गर्दै राज्यबाट आफ्नो ज्यानको जोखिम भएकोले सुरक्षाको ग्यारेन्टी पाए आफू सार्वजनिक हुन तयार रहेको अभिव्यक्ति दिएपछि राजनीतिक माहोल तरंगित बन्न पुगेको थियो । उनले आफू नेपालभित्रै रहेको आशयको अभिव्यक्ति दिएपनि सुरक्षा निकायले भने प्रसाईं भारतमै लुकेर बसेको विश्लेषणको आधारमा अनुसन्धान अघि बढाएको थियो । प्रहरी सुत्रका अनुसार प्रसाई भारतको आसाममा रहेको सूचना मिलेपछि आसाम प्रहरीसँग समन्वय गरी उनलाई नियन्त्रणमा लिने तयारी चलिरहेकै बेला बिहीबार प्रसाईं स्वयमले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

आसाम प्रहरीले नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र काँकरभिट्टा नाका हुँदै प्रसाईंलाई काठमाडौं ल्याइने प्रक्रिया अघि बढिसकेको बुझिएको छ ।