April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

निषेधित क्षेत्र बढाएकोविरुद्ध बृहत् नागरिक आन्दोलनले विरोध मार्च गर्ने

२०८० मंसिर २८

1.9K

काठमाडौंः सरकारले निषेधित क्षेत्रहरु बढाउँदै लैजाने कदमकोविरुद्धमा बृहत् नागरिक आन्दोलनले ‘नागरिक सर्वोच्चताका लागि विरोध मार्च’ कार्यक्रम गर्ने भएको छ । उक्त विरोध मार्च मंसिर २९ गते शुक्रबार दिउँसो २ बजे रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु हुने जनाएको छ । बुधबार बृहत नागरिक आन्दोलनको फेसबुक पेजमार्फत एक पर्चा जारी गर्दै उक्त जानकारीसहितको आह्वान गरिएको हो ।

विरोध मार्च कार्यक्रमबारे बृहत् नागरिक आन्दोलनले जारी गरेको पर्चामा यस्तो लेखिएको छः

राज्यलाई खबरदारी गर्न नागरिकले विरोधका आवाज उठाउने ठाउँहरूलाई संकुचित गर्दै लैजानु लोकतन्त्र माथि खतराको सङ्केत हो । खुलामञ्च, माइतीघर र शान्तिवाटिका हाल नागरिक आवाज मुखरित गर्ने स्थलहरू हुन्। यो नागरिकको संवैधानिक लोकतान्त्रिक अधिकार हो । सरकारले लामो समयसम्म माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेर आफूप्रति लक्षित विरोधका आवाजहरू दबाउन खोजेको छ। यो निरङ्कुश राज्यको चरित्र हो ।
दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गइरहेको छ । सामाजिक न्याय सङ्कटमा छ । सरकारप्रति बढेका असन्तुष्टि अभिव्यक्त हुन नदिन नागरिकले प्रयोग गर्दै आएको विरोध स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने कदमको विरोध स्वरूप निषेधित क्षेत्र तोडेर नागरिक सर्वोच्चता कायम गर्न विरोध मार्चमा सहभागी बनौं।