April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

२०८२ बैशाख ८

430

अनपेक्षितरूपले शिक्षक आन्दोलन तन्किएर पूरक समस्याहरू बढ्दै गएको परिवेशमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आकस्मिक तवरले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार (८ वैशाख) दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयले मन्त्री भट्टराईको राजीनामा आएको पुष्टि गरेको छ । शिक्षामन्त्रीको राजीनामाले प्रधानमन्त्री केपी ओलीलाई समेत ‘बेग्लै’ दबाबमा पारेको बालुवाटार स्रोतको भनाइ छ ।

तथापि, विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी आन्दोलित शिक्षकका माग पूरा गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिँदै आएको सरोकारवाला पक्षको गुनासो रहँदै आएको छ । यसआधारमा भन्नुपर्दा प्रधानमन्त्रीको रवैयाप्रति असन्तुष्ट भएर नै मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । उनले व्यक्तिगत स्वास्थ्यलाई कारण देखाएर राजीनामा दिएपनि राजीनामा स्वीकृत भने भइसकेको छैन ।

मन्त्री भट्टराईले शिक्षकहरूको आन्दोलनको दबाब थेग्न नसकेपछि राजीनामा दिएको अनुमान गरिएको छ । शिक्षकहरूले उठाएका मागहरूबारे यसअघि यही वैशाख २ गते शिक्षामन्त्री भट्टराई र सभामुख देवराज घिमिरेबीच वार्ता पनि भएको थियो । सभामुखले त्यसदिन मन्त्री भट्टराई र विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग संवाद गरेका थिए । त्यसबेला मन्त्री भट्टराईले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसद्को आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको जनाएकी थिइन् । तर, उनले भनेजस्तो भइरहेको देखिएको छैन र, शिक्षकका माग पूरा गर्ने दिशमा प्रधानमन्त्री ओली पनि अझै सकारात्मक बनेको अनुभूति गरिएको छैन ।

वैशाख ५ मा शिक्षामन्त्री भट्टराईलाई जानकारी नै नदिइ प्रधानमन्त्री केपी ओलीले शिक्षक महासंघका नेताहरूसँग बालुवाटारमा वार्ता गरेको सन्दर्भले पनि मन्त्री भट्टराईमा असन्तुष्टि बढाएको निकटवर्तीहरू बताउँछन् ।

नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि शिक्षकहरूले आन्दोलन मोर्चा नछाडेपछि सरकार र विशेषगरी मन्त्री भट्टराईमाथि दबाब बढेको थियो । यसरी, शिक्षकका माग सम्बोधनबारे सरकार गम्भीर नहुँदा विभागीय मन्त्री आफैंले कुर्सी छाड्नुपरेको ठानिएको छ ।