June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना

२०८१ असार ३

610

यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध छ ।

मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन सक्रिय नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएका छन् ।

‘मुलुकको पूर्वी क्षेत्रमा मनसुन सक्रिय भइसकेको छ, पूर्वबाट पश्चिम बहने हावा सक्रिय नहुँदा पश्चिमी क्षेत्रमा असार ६ गतेसम्म तातो हावाको लहर चल्ने छ’, उनले भनेका छन्, ‘महाशाखाले मौसमसम्बन्धी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्ने भएकाले आगामी तीन दिनसम्म पश्चिम क्षेत्रमा मौसम सक्रिय हुँदैन, त्यसपछि पनि के हुन्छ आजै भन्न सकिँदैन ।’

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत भएकाले सोबाट बच्नुपर्ने मौसमविद् पुडासैनीले बताएका छन् ।  रासस