April 16, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

तुइन चुँडिदा कर्णाली नदीमा एकजना बेपत्ता, तुइन मुक्त घोषणाको आठ वर्ष पूरा

२०८० आश्विन २१

1.9K

काठमाडौंः तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुइन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका नेपाली बेपत्ता भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडाले जनाएको बराहदल गुल्म रानीवन ब्यारेक सिमकोटका गुल्मपति सेनानी दिनेश खड्काले बताए । कर्णाली करिडोरको ग्युसी -छारे खण्डको छारे भीरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार साँझ ६ बजे नेपाली तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको गुल्मपति सेनानी खड्काले जानकारी दिए ।

यसअघि २०७२ सालको असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो । तर तुइन मुक्त बनाउने घोषणा गरेको आठ वर्ष बितिसक्दा पनि नागरिकले तुइन चुँडेर मृत्युवरण गर्नुपरेको समाचार पढिरहनुपर्ने अवस्था रहेको छ । कहिले दोर्दी खोलामा फूलमाया गुरुङ,कहिले महाकाली नदीमा जयसिंह धामी त कहिले कर्णालीमा मक्कर सिंह नेपालीहरुले तुइन चुँडेर बेपत्ता हुनुपरेको खबर आईरहन्छ । गृह मन्त्रालयका अनुसार २८ वर्षयता तुइनबाट खसेर दार्चुलामा मात्रै २५ जनाको मृत्यु भइसकेको छ ।

चुनावी प्रचारबाजीका लागि तुइन मुक्त घोषणा गरेर जनतालाई झुठो आश्वासन बाँड्ने तर चुनाव जितेर सत्तामा पुगेपछि सिन्को नभाँच्ने राजनीतिक दलहरुका प्रवृत्तिको कारण पनि नेपालका दुर्गम र विकट क्षेत्रका जनताले सदियौँदेखि दुःख कष्ट झेलिरहेका छन् । तर,सरकार भने वास्तवमै तुइन मुक्त हुने गरि काम गर्नुको सट्टामा तुइन चुँडेर कोही बेपत्ता भएको खबर आउँदा दुःख व्यक्त मात्रै गरिरहेको छ ।